Section 11B
आयोगको गठन

(१) सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस गर्न एक शिक्षक सेवा आयोग गठन हुनेछ ।

तर दफा ११थ. बमोजिम स्थानीय निकाय वा व्यवस्थापन समितिले व्यवस्थापन जिम्मा लिएको सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको नियुक्ति तथा त्यसरी नियुक्त शिक्षकको बढुवा तोकिए बमोजिम हुनेछ ।

(२) आयोगमा अध्यक्ष र एकजना महिला सहित अन्य दुर्ईजना सदस्यहरू रहनेछन ।

(३) उपदफा (२) बमोजिमका सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न नेपाल सरकारले लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उप–कुलपति र मन्त्रालयको सचिव सदस्य रहेको एक समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले सदस्यमा नियुक्ति गर्नेछ ।

(४) उपदफा (२) बमोजिम नियुक्त सदस्यहरुको पदावधि पाँच वर्षको हुनेछ र निजहरु पुन नियुक्त हुन सक्नेछन् ।

(४क) आयोगको वरिष्ठ कर्मचारीले आयोगको सचिव भई काम गर्नेछ ।

(५) आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ ।

(६) सदस्यहरुको सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछन् ।

(७) सदस्यहरुको पारिश्रमिक तथा सुविधा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।